विराटनगर । विद्यार्थीहरूमा नेतृत्व, कूटनीतिक सोच, अनुसन्धान क्षमता तथा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन (केएमयूएन)–२०२६’ विराटनगरमा सुरु भएको छ ।
स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरको समन्वयमा आयोजित तीनदिने सम्मेलनको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले युवा पुस्तामा नेतृत्व क्षमता, संवाद कौशल, अन्तर्राष्ट्रिय सम्बन्धबारेको ज्ञान तथा विश्वस्तरका चुनौतीहरूको समाधान खोज्ने क्षमता अभिवृद्धि गर्न यस्ता सम्मेलन प्रभावकारी माध्यम बन्ने बताए । उनले विद्यार्थीलाई विश्व समुदायको जिम्मेवार सदस्यका रूपमा सोच्न, सहकार्य र संवादमार्फत समस्या समाधान गर्न तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
डीपीएस विराटनगरका सह–प्राचार्य टी.एन. भण्डारीले यस्ता शैक्षिक मञ्चले विद्यार्थीको आत्मविश्वास, सार्वजनिक प्रस्तुतीकरण कला, समालोचनात्मक सोच र अनुसन्धान क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले सहभागीलाई विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा रहेर समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा गहन छलफल गर्न आह्वान गरे ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का कोशी प्रदेश संयोजक प्रशान्त नेपालले दिगो विकास, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा विश्वव्यापी चुनौतीहरूको समाधानमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनका अनुसार यस्ता सम्मेलनले विद्यार्थीलाई अन्तर्राष्ट्रिय मुद्दाको गहिरो अध्ययन गर्न, समाधानका वैकल्पिक उपाय खोज्न तथा जिम्मेवार विश्व नागरिकका रूपमा विकसित हुन महत्वपूर्ण अवसर प्रदान गर्छ ।
सम्मेलनमा केएमयूएनका महासचिव दीपांकर कुँवर, स्पटलाइट इनिसियटिभका अध्यक्ष ईशान अग्रवाल, कस्तुरी कलेजका शैक्षिक संयोजक, विराट शिक्षण अस्पतालका निर्देशक, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, कार्यकारी समिति सदस्य, शिक्षक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार सम्मेलनमा विभिन्न विद्यालयका करिब ३ सय विद्यार्थी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा उनीहरूले विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्दै विश्व शान्ति, मानव अधिकार, जलवायु परिवर्तन, दिगो विकास, अन्तर्राष्ट्रिय सुरक्षा लगायतका समसामयिक विषयमा बहस, छलफल र प्रस्ताव प्रस्तुत गर्नेछन् ।







