कैलाली । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका छन् । उनले आजबाट औपचारिक रूपमा सुदूपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, अपराधको वर्तमान प्रवृत्ति तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री, सहज र द्रुत प्रहरी सेवा सुनिश्चित गर्ने, सुशासन र मानवअधिकार संरक्षणलाई प्राथमिकतामा राख्ने तथा प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै उनले आर्थिक सुशासन कायम गर्ने, लागूऔषध कारोबार, तस्करी, जुवातासलगायत सबै प्रकारका गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलता अपनाउँदै योजनाबद्ध र प्रभावकारी ढंगले प्रहरी परिचालन गर्न मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
पदभार ग्रहणका अवसरमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका अधिकारी, कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूले डीआईजी भट्टराईलाई स्वागत गरेका थिए ।







