काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा क्षेत्रमा लगानी निरन्तर वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार विद्यालय तहदेखि नै डिजिटल शिक्षामा लगानी विस्तार गर्ने उद्देश्यसहित आवश्यक बजेट व्यवस्था गरिएको छ। उनले स्मार्ट बोर्ड जडान, आधारभूत तहको सिकाइ उपलब्धि सुधारका लागि फाउन्डेशन लर्निङ कार्यक्रम तथा शैक्षिक क्षमता विकासका गतिविधिलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।

उनले भने, “वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरूप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वृद्धि गर्दै लगिनेछ।”

सांसदहरूले उठाएका विद्यालय समायोजन, तह घटाउने तथा भौगोलिक आधारमा विद्यालय व्यवस्थापनसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले न्यून विद्यार्थी संख्याका आधारमा कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित नगरिने बताए।

उनका अनुसार सरकारले आगामी वर्ष विद्यालय पूर्वाधारका लागि १० अर्ब ४५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया