विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङले जेठ महिनामा सीमा क्षेत्रमा चोरी–तस्करी नियन्त्रण तथा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

गुल्मले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाभर सञ्चालन गरिएको विभिन्न अपरेशनका क्रममा २६ लाख १९ हजार ३८९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको छ। त्यसैगरी २ लाख १६ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान नष्ट गरिएको जनाइएको छ।

सुरक्षा निकायले सोही अवधिमा ८ लाख ६२ हजार ३५० रुपैयाँ बराबरका अवैध भारतीय तथा नेपाली नोटसमेत बरामद गरेको छ। उक्त घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जेठ महिनामा बरामद गरिएको अवैध सामान, नोट तथा अन्य सामग्रीको कुल मूल्य ३६ लाख ९७ हजार ७३९ रुपैयाँ पुगेको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार, चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले नियमित गस्ती, निगरानी र विशेष सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

यसैबीच, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत तीन वटा छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी अझ प्रभावकारी बनाइने सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया