काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीलाई धम्काएको भन्दै आपत्ति जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको ‘फेसबुक लाइभ’ मार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै आपत्ति जनाएका हुन्।
सांसद केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको दाबी गरे।
उनले भने, ‘संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्रै थुन्ने र धम्कीका साथ पक्राउ पुर्जी जारी गर्न लगाइएको विषय बाहिर आएको छ। यदि, यो साँचो हो भने यो लोकतन्त्र र सुशासनको नाममा लज्जास्पद हर्कत हो।’





