सोलुखुम्बु, असार ४ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा आयोजित छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ।
असार २ गते सम्पन्न फाइनल खेलमा फयाफुल्ला तामाङ समाज लुक्लालाई पराजित गर्दै कोङदे ‘टिम ए’ च्याम्पियन बनेको हो। प्रतियोगितामा फयाफुल्ला तामाङ समाज उपविजेतामा सीमित रहँदा कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहकै ‘टिम बी’ ले तेस्रो स्थान हासिल गरेको छ।
उपाधिसँगै विजेता टोलीले नगद ३ लाख रुपैयाँ, गोल्ड कप, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडी कोङदे ‘टिम ए’ का प्रेम तामाङ घोषित भएका छन्। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे। विधागत पुरस्कारतर्फ आमादब्लम युवा क्लब पाङबोचेका पासाङ तेन्जी शेर्पा उत्कृष्ट सेटर, फयाफुल्ला तामाङ समाजका बिनराज राई उत्कृष्ट स्पाइकर, कोङदे ‘टिम ए’ का अशोक राई उत्कृष्ट डिफेन्डर तथा निम साङ्गे शेर्पा उत्कृष्ट सर्भर घोषित भएका छन्। उत्कृष्ट ब्लकरसहित अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले पुरस्कार वितरण गर्नुभएको थियो।
खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रथम अध्यक्ष तथा प्रतियोगिताका संस्थापक अध्यक्ष स्वर्गीय ङिम दोर्जि शेर्पाको स्मृतिमा विगत छ वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन हुँदै आएको छ। क्यान्सरका कारण निधन भएका शेर्पाको सम्झनामा यस वर्षको प्रतियोगिता कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो।
कुल ६ टोली सहभागी रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो।







