काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
महाधिवेशनबाट महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरेका थिए।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्। सात उपाध्यक्ष पदका लागि १३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित भएका छन् भने महासचिवमा डेकनाथ गौतम विजयी भएका छन्। उपमहासचिव पदमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा निर्वाचित भएका छन्। सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल चयन भएका छन्।
कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भएका छन् भने सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए। महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति चयन भएको छ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले यातायात क्षेत्रमा विद्यमान समस्या समाधान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महासंघले सरकारसँग समन्वय गरी काम गर्ने बताए।
महाधिवेशनमा देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारी संस्थाका करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो।







