सौगात विष्ट

ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको भू–उपयोग वर्गीकरण कार्य सम्पन्न गर्दै सम्बन्धित जग्गाधनीलाई आवश्यक विवरण सच्याउन आग्रह गरेको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ बमोजिम जग्गाहरूको प्रारम्भिक वर्गीकरण गरिएको हो ।

सूचनाअनुसार गाउँपालिकाले तयार पारेको प्रारम्भिक सूचीमा कुनै जग्गाको विवरण छुट भएको, दोहोरिएको वा वर्गीकरणमा त्रुटि देखिएमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन समेत सम्बन्धित जग्गाधनीलाई अनुरोध गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा नागरिकलाई आफ्नो जग्गाको वर्गीकरण सम्बन्धी विवरण अध्ययन गरी त्रुटि भएमा आवश्यकता अनुसार सच्याउने प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ । यस्तै कुनै जग्गाको कित्ता नम्बर उल्लेख नभएको अवस्थामा मूल कित्तालाई आधार मानेर अध्ययन गर्न समेत अनुरोध गरिएको छ ।

गाउँपालिकाले सबै वडा कार्यालयलाई सूचना तथा प्रस्तावित भू–उपयोग वर्गीकरणको सूची सार्वजनिक गरी नागरिकबाट प्राप्त गुनासोहरू तथा सुझावहरू सङ्कलन गर्न निर्देशन दिएको छ। प्राप्त निवेदन तथा सुझावहरू अध्ययन गरी आवश्यक संशोधनपछि अन्तिम वर्गीकरण प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बाले जानकारी दिनुभयो ।

गाउँपालिकाले भू–उपयोग व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यका साथ यो कार्य अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया