काठमाडौँ– एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन्।
मदन भण्डारी ७५ औँ जन्मजयन्ती मुल व्यवस्थापन समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने विद्या संरक्षक छन्।
मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिएका हुन्।
उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गर्दैछिन्। उद्घाटनका लागि एमालेका केन्द्रीय नेताहरूले समेत निमन्त्रणा गरिएको बताइएको छ। ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन्।
यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको थियो।
समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको थियो। तर, पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि परिस्थिति फेरिएको छ। यो बदलिएको परिस्थितिमा पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ।
नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए।
मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन्। अहिले त्यही घरलाई भाडामा लिएर एमालेको अन्तरसंघर्षका गतिविधि गर्ने तयारी भइरहेको नेताहरू बताउँछन्।