खोटाङ। खोटाङ र उदयपुर जोड्ने फोक्सिण्टारस्थित सुनकोसी नदीमा पुल निर्माणका लागि जनस्तरबाट पहल सुरु भएको छ । बाढीले बगाएको मोटरेवल पुल जनस्तरबाटै सुचारु गर्न खोटेहाङ गाउँपालिकाले पहलकदमी लिएको हो ।
संघीय सरकारले आवश्यक बजेट नछुट्याएपछि स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर पुल सञ्चालन गर्ने तयारी गरिएको हो । खोटेहाङ गाउँपालिकाको सभाहलमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पुल पुनःनिर्माणका लागि छिमेकी पालिकाहरुसँग समन्वय गर्ने समेत निर्णय गरेको छ । भेलाले गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय पुल निर्माण पहल समिति गठन गरेको छ ।
तराईसँग सिधा जोडिने नाकामा पुल पुनःनिर्माणका लागि माथिल्लो तहको सरकारहरुसँग डेलिगेसन जाने तथा प्रकृयाहरु बुझ्ने जनाईएको छ । । पुल नहुँदा खोटाङ जिल्लाका नागरिकले भोग्नु पर्ने शास्ती र पुलको आवश्यकताका विषयमा संघीय सरकारले बेवास्ता गरेमा स्थानीय सरकारको पहल र नागरिकको तहबाट आर्थिक संकलन अभियान नै चलाएर भए पनि पुल सञ्चालन ल्याउने तयारी रहेको समिति संयोजक तथा गाउँपालिका अध्यक्ष राईले जनाउनुभयो ।
संघीय सरकारले खोटाङका नागरिकहरुलाई तराईसँग विच्छेद गरेर नाकाबन्दी गर्न खोजेको भन्दै संयोजक राईले सम्पुर्ण सरोकारवालाहरुले यसका बारेमा आवश्यक पहल गर्न अनुरोध गर्नुभएको छ । सरकारले बेवास्ता गरे सम्पुर्ण पालिकावासी जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विभिन्न पेशा व्यावयसायीहरुबाट चन्दा संकलन गरेरै भए पनि पुल सञ्चालनमा ल्याउने उहाँको भनाई छ ।
पुल निर्माणका लागि प्राविधिक मुल्याङकन नभईसकेको भए पनि करिब १५ करोडको लागत अनुमान गरिएको छ । खोटाङलाई पूर्वी तराईका विभिन्न जिल्लासँग जोड्ने छिटो र सिधा सडकखण्डमा पर्ने फोक्सिङटार पुल २०८१ असोज–१२ गते आएको भीषण बाढीले बगाएको थियो ।
निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट १ सय १ किलोमिटर सडकखण्डमा १ सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल बाढीले बगाएको थियो । पुल बाढीले बगाएपछि हिउँदभर सञ्चालन हुने गरी अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको मोटरेबल पुल पुनः निर्माण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट सुनिश्चित गरेको बताइएको थियो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३५ करोड बजेट सुनिश्चित गरेको एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईले जनाउनुभएको थियो ।







