काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, महसुल तथा सेवा शुल्क नतिर्ने उद्योगहरूको बिजुली र पानीको लाइन काट्न थालेको छ। २५ जेठमा सात दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको हो।
देशभरका १० औद्योगिक क्षेत्रमा रहेका ६३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ उठ्न बाँकी छ। हालसम्म बालाजु, पाटन, नेपालगञ्ज र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका एक दर्जनभन्दा बढी उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको लिमिटेडले जनाएको छ।
सबैभन्दा धेरै बक्यौता बालाजु औद्योगिक क्षेत्रका १५१ उद्योगको ४३ करोड ९० लाख रुपैयाँ रहेको छ। त्यसपछि हेटौंडाका १३१ उद्योगको २० करोड ९० लाख र पाटनका ९४ उद्योगको १० करोड १० लाख रुपैयाँ बक्यौता छ।
लिमिटेडका अनुसार बक्यौता रकम बुझाएपछि उद्योगहरूको लाइन पुनः जडान गरिनेछ भने आंशिक रकम मात्र तिरेर बाँकी राख्ने उद्योगमाथि पनि थप कारबाही गरिनेछ।







