दाङ, असार ३ — सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरत्रासमा पारी कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मगरले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई धम्क्याउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियोबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
मगरको घरमा गरिएको खानतलासीका क्रममा प्रहरीले प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार कुटपिटबाट पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।







