सोलुखुम्बु/ थुलुङ दूधकोशी गाउँपालिकामा कफी प्रशोधन प्लान्ट सञ्चालनमा आएको छ। गाउँपालिका, इको हिमाल र ग्लेशियर ट्रस्टको संयुक्त लगानीमा स्थापना गरिएको प्लान्टले स्थानीय कफी किसानलाई उत्पादनको उचित मूल्य दिलाउन तथा बजार पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र दुई हजार १८५ किलोग्राम कफी उत्पादन भएको थियो। किसानको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले प्रतिकिलो ६०० रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरी विभिन्न कृषक, कृषि समूह तथा सहकारीमार्फत कफी खरिद गरेको थियो।
संकलित कफीलाई प्रशोधन प्लान्टमा प्रशोधन तथा वर्गीकरण गरी ग्रेड ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ। प्रशोधित कफी प्रतिकिलो ८०० रुपैयाँका दरले बिक्री भइरहेको जनाइएको छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख डिल्लुनाथ योगीका अनुसार थुलुङ दूधकोशीमा उत्पादित उच्च गुणस्तरको कफी हाल काठमाडौं र सल्लेरीका विभिन्न क्याफेमा बिक्री भइरहेको छ। यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै किसानको आम्दानी वृद्धि गर्न समेत सहयोग पुगेको उनले बताए।
गत आर्थिक वर्षमा द हिमालयन ट्रस्टमार्फत परीक्षणका लागि बेलायत पठाइएको यहाँको कफीले ८३ प्रतिशत शुद्धताको उत्कृष्ट नतिजा हासिल गरेको थियो। उक्त नतिजाले थुलुङ दूधकोशीको कफी अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको कृषि क्षेत्रका जानकारहरूले बताएका छन्।
कफी प्रशोधन प्लान्टको सञ्चालन अवस्था, प्रशोधन प्रक्रिया तथा प्रभावकारिताबारे जानकारी लिन हालै कृषि विकास निर्देशनालय विराटनगर र कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन्। अनुगमन टोलीले स्थानीय तहमा सञ्चालन भइरहेको कफी उत्पादन तथा प्रशोधन गतिविधिलाई कृषकमुखी र सम्भावनायुक्त प्रयासका रूपमा मूल्याङ्कन गरेको जनाएको छ।
स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि गर्दै बजारसँग जोड्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो प्रशोधन प्लान्टले कफी खेतीप्रति किसानको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। गुणस्तरीय उत्पादन, प्रभावकारी प्रशोधन र व्यवस्थित बजार व्यवस्थापनलाई निरन्तरता दिन सके सोलुखुम्बु आगामी वर्षहरूमा नेपालको प्रमुख कफी उत्पादन क्षेत्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ।







