ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले दलित सचेतना कार्यक्रमअन्तर्गत दम्पतीहरूलाई सम्मान गरेको हो ।

मङ्गलबार गाउँपालिकामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीहरूलाई सम्मान गरिएको दलित अधिकारकर्मी गणेश कार्की डोलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममार्फत प्रत्येक दम्पतीलाई नगद ३ हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेहरूमा वडा नं. १ का कविता बयलकोटी र मौसम लिम्बू, वडा नं. २ का होमबहादुर दर्नाल र सिर्जना राई, वडा नं. ३ का रमेश घिमिरे र सरिता नाल्बो, सुमन बराइली र सङ्गीता लिम्बू तथा हेमकुमार थापा र अस्मिता दर्नाल रहेका छन् ।

त्यसैगरी वडा नं. ४ का सविन बर्देवा र सङ्गीता श्रेष्ठ, वीरकुमार कार्की डोली र सिर्जना तामाङ तथा वडा नं. ५ का धननाथ नेपाली र साङ्गी शेर्पा, आइतवीर र अस्मिता बराइली, कृष्ण बिक र कमला लिम्बू तथा सल बहादुर नेपाली र गंगा देवी शेर्पा सम्मानित भएका छन् ।

अन्तरजातीय विवाहले सामाजिक एकता, सहिष्णुता र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) ले बताउनुभयो । उहाँका अनुसार अझै पनि समाजका केही क्षेत्रमा जातीय विभेदका घटना देखिने भएकाले यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

गाउँपालिकाले सामाजिक रूपान्तरण र जातीय विभेद न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पोमूले बताउनुभयो । अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान गर्ने कार्यले सामाजिक सद्भाव अभिवृद्धि हुनुका साथै मतभेदमुक्त समाज निर्माणमा थप टेवा पुग्ने अपेक्षा गरिएको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया