विराटनगर, असार २ गते — जहदा गाउँपालिका–२, बिरपुरकी मिरा साहले ललिता हाँस्दाविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएको अभद्र व्यवहारसम्बन्धी मुद्दा खारेज गर्न स्थानीयवासीले माग गरेका छन्।विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तथा नागरिक समाजका प्रतिनिधिहरूले हाँस्दामाथि पूर्वाग्रही ढंगले मुद्दा दर्ता गरिएको दाबी गर्दै तत्काल खारेज गर्न प्रशासनसँग आग्रह गरेका हुन्।

स्थानीयका अनुसार जेठ २२ गते हराएको दाब (कुखुरीजस्तो देखिने कृषि औजार) को विषयलाई लिएर मिरा साह र ललिता हाँस्दाबीच विवाद भएको थियो। मिरा साहले आफ्नो दाब हराएको भन्दै छिमेकी हाँस्दालाई शंका गरी सोधपुछ गर्ने क्रममा दुवै पक्षबीच भनाभन र सामान्य झडप भएको बताइएको छ।
पीडित ललिता हाँस्दाले आफूले उक्त दाब नलिएको र आफ्नै कृषि औजार रहेको दाबी गर्दै झुटो आरोप लगाइएको बताइन्। उनले मिरा साहले “म नेपाल प्रहरीका असईको आमा हुँ, घर तलासी गर्न देऊ, नत्र प्रहरी बोलाउँछु” भन्दै पटक–पटक धम्की दिएको आरोप लगाइन्। हाँस्दाका अनुसार मिरा साहका छोरा प्रहरी सहायक निरीक्षक (असई) अरुण साहले समेत आफू र आफ्नो परिवारलाई “अहिले नै उठाएर जेल हाल्छु” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ।

नागरिक समाज, जहदा गाउँपालिका मोरङका संयोजक छोटे लाल सोरेनले सामान्य स्थानीय विवादलाई लिएर उल्टै ललिता हाँस्दाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको बताए। उनले जेठ २७ गते असई अरुण साहले फोनमार्फत हाँस्दालाई धम्कीपूर्ण शैलीमा बोलाएको आरोपसमेत लगाए।पत्रकार सम्मेलनमार्फत स्थानीयहरूले पाँच बुँदे माग अघि सारेका छन्। उनीहरूले हाँस्दाविरुद्ध दर्ता गरिएको अभद्र व्यवहारको मुद्दा तत्काल खारेज गर्न, घटनामा संलग्न प्रहरी कर्मचारीको भूमिका र आचरणबारे निष्पक्ष अनुसन्धान गर्न, पद र प्रभावका आधारमा दबाब सिर्जना नगर्न, हाँस्दा परिवारको सुरक्षा सुनिश्चित गर्न तथा अधिकारको दुरुपयोग पुष्टि भए कानुनी कारबाही गर्न माग गरेका छन्।यता, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कबिन्द्र राईले ललिता हाँस्दाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जासमेत जारी भएको जानकारी दिए। उनले हाँस्दालाई पक्राउ गर्न प्रहरी टोली घर पुगेको बेला स्थानीयवासीको भीडका कारण पक्राउ गर्न नसकिएको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया