उर्लाबारी । कोशी प्रदेश सरकारले मोरङको उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले केन्द्र निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् ।
प्रदेश सरकारले विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त केन्द्र स्थापना गर्न लागेको जनाएको छ। केन्द्र सञ्चालनमा आएपछि दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनाका बेला छिटो, प्रभावकारी र समन्वित सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच राज्य मन्त्री उमाकान्त गौतमले स्थानीय तहसँगको सहकार्यमा प्रदेशका विभिन्न स्थानमा आपतकालीन सेवा केन्द्र निर्माण तथा विस्तारको काम अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार उर्लाबारीमा निर्माण हुने केन्द्रले पूर्वी मोरङसहित आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउनेछ।
प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण, उद्धार क्षमताको अभिवृद्धि तथा नागरिकलाई छिटो सेवा उपलब्ध गराउने लक्ष्यसहित यस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ। उर्लाबारीमा स्थापना हुने आपतकालीन अत्यावश्यक सेवा केन्द्रले प्रदेशको आपतकालीन सेवा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने बताइएको छ।
उर्लाबारीमा आपतकालीन अत्यावश्यक सेवा केन्द्र निर्माण हुने







