फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न तीनवटा खेलमा सबैको नतिजा बराबरीमा टुंगिएको छ ।
सुरुको खेलमा स्पेन र केप भार्डे गोलरहित बराबरीमा रोकिएका थिए । पहिलोपटक विश्वकपमा सहभागी भएको सानो राष्ट्र केप भार्डेले पूर्वविश्वविजेता स्पेनलाई अंक बाँड्न बाध्य बनाएको हो । स्पेनविरुद्धको प्रभावशाली प्रदर्शनपछि केप भार्डेले धेरै समर्थकको ध्यान तानेको छ । विशेषगरी, केप भार्डेका गोलकिपर भोजिन्हाको प्रदर्शनको व्यापक प्रशंसा भइरहेको छ । उनी उक्त खेलका ‘म्यान अफ द म्याच’समेत घोषित भए ।
त्यसैगरी, बेल्जियम र इजिप्टबीचको खेल पनि १–१ को बराबरीमा सकियो । इजिप्टको आत्मघाती गोल बेल्जियमका लागि राहत बन्यो । सोही गोलका कारण बेल्जियम खेलमा फर्किन सफल भएको थियो ।
अर्को, खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ को बराबरी खेले । साउदी अरेबियाले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अमेरिकी टोली उरुग्वेलाई अंक बाँड्न बाध्य बनायो । यस विश्वकपमा एसियाली टोलीहरूले समग्रमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
खेल नतिजा :
स्पेन ०–० केप भार्डे
बेल्जियम १–१ इजिप्ट
साउदी अरेबिया १–१ उरुग्वे







