झापा : दुई दिनको अन्तरालमा नेपाल–भारत सीमाक्षेत्रबाट अर्का एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारतको सशस्त्र सीमा बल ‘एसएसबी’ले नेपालबाट भारततर्फ अवैध रूपमा प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।

एसएसबीको ४१औँ बटालियनअन्तर्गत बोर्डर इन्टेलिजेन्स टिम ‘बिआइटी ले पानीट्यांकीस्थित पुरानो मेची पुलमा नियमित जाँचका क्रममा बङ्गलादेशको मदारीपुर जिल्लाको उमेदपुर गाउँ निवासी ३८ वर्षीय नन्दन दासलाई पक्राउ गरेको हो।

उनको साथबाट बङ्गलादेशी राहदानी, बङ्गलादेशबाट नेपाल आउँदाको हवाई टिकट, दुई वटा बङ्गलादेशी र एउटा नेपाली सिमकार्ड रहेको मोबाइल फोन तथा भारतीय मुद्रा दुई हजार पाँच सय ८० रुपैयाँ बरामद भएको जनाइएको छ।

प्रारम्भिक सोधपुछका क्रममा दासले आफूलाई सन् २०२६ फेब्रुअरीमा एक एजेन्टले सर्बियामा रोजगारीको व्यवस्था गरिदिने आश्वासन दिएको बताएका छन्। सो प्रयोजनका लागि उनले तीनदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेर नेपाल आएको तर नेपाल आइपुगेपछि सम्बन्धित एजेन्ट सम्पर्कविहीन बनेको उनको भनाइ रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

धोखाधडीको शिकार भएपछि उनी पोखरामा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका थिए। करिब दुई महिना काम गरेपछि भारत हुँदै बङ्गलादेश फर्कने उद्देश्यले सीमातर्फ आएको क्रममा उनी पक्राउ परेका हुन्।

यसअघि जेठ ३० गते पनि झापाको पूर्वी सीमाक्षेत्रबाट एक बङ्गलादेशी नागरिक पक्राउ परेका थिए। मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँ क्षेत्रमा भारतको पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्ने क्रममा ती नागरिकलाई नियन्त्रणमा लिइएको थियो।

छोटो अवधिमै सीमा क्षेत्रमा बङ्गलादेशी नागरिक पक्राउ परेका घटनाहरू दोहोरिन थालेपछि मानव तस्करी तथा वैदेशिक रोजगारीको नाममा हुने अन्तरदेशीय ठगीको जोखिम पुनः चर्चामा आएको छ। सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया