महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सेवाग्राहीलाई सहज, सुलभ र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले बिचौलियाविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। कार्यालय परिसर तथा सेवा प्रवाह प्रक्रियामा बिचौलियाको हस्तक्षेप अन्त्य गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउने नीति अवलम्बन गरिएको प्रहरीले जनाएको छ।
“सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध” भन्ने नारासहित प्रहरीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न कदम अघि बढाएको छ। यसअन्तर्गत सिफारिस, निवेदन, प्रमाणपत्र, उजुरी दर्तालगायत अन्य सेवा लिन आउने नागरिकले कुनै पनि बिचौलियाको सहारा लिन नपर्ने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार सरु मगरका अनुसार अभियानको मुख्य उद्देश्य सेवाग्राहीले अनावश्यक खर्च, झन्झट तथा बिचौलियाबाट हुन सक्ने ठगीको जोखिमबाट मुक्ति पाउनु हो। उनले नागरिकलाई कुनै पनि सेवा लिन प्रहरी कार्यालयमा सिधै सम्पर्क गर्न आग्रह गरेका छन्।
एसपी मगरले सेवाको नाममा रकम माग्ने, प्रभाव देखाउने वा बिचौलियाको भूमिका निर्वाह गर्ने जोसुकैमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन्। सेवा सम्बन्धी जानकारी आवश्यक परे सम्बन्धित शाखा वा प्रहरी कर्मचारीसँग प्रत्यक्ष रूपमा बुझ्न सकिने उनले बताए।
उनले प्रहरी संगठनलाई नागरिकमैत्री, जवाफदेही र पारदर्शी बनाउने अभियानअन्तर्गत बिचौलियारहित सेवा प्रणाली लागू गरिएको स्पष्ट पारे।
स्थानीय नागरिकहरूले पनि प्रहरीको यस कदमको स्वागत गरेका छन्। बिचौलियाको प्रभाव हटेपछि सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने, अनावश्यक खर्चबाट बच्ने तथा सरकारी निकायप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।







