काठमाडौँ । राजधानी काठमाडौँमा लागूऔषध तस्करीविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा भाग्न खोजेको कारको टायरमा गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोप्य सूचनाका आधारमा ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा निगरानी गरिरहेको अवस्थामा शङ्कास्पद सुजुकी कार र त्यसलाई एस्कर्ट गरिरहेको मोटरसाइकललाई रोक्न खोजेको थियो। तर प्रहरीले रोकेपछि सवारी चालकले गाडी तीव्र गतिमा अघि बढाउँदै फरार हुने प्रयास गरेको बताइएको छ।

प्रहरीका अनुसार कारले प्रहरी टोलीलाई नै जोखिममा पार्ने गरी अगाडि बढेपछि आत्मरक्षाका लागि गुडिरहेको कारको पछाडिको दाहिने टायरमा एक राउन्ड गोली प्रहार गरिएको थियो। गोली लागेपछि टायर पड्किएर कार नियन्त्रणमा आएको थियो।

त्यसपछि गरिएको खानतलासीका क्रममा कारको डिक्कीबाट लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको ब्युरोले जनाएको छ। घटनास्थलबाट कार, एउटा मोटरसाइकल तथा पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सितामढी जिल्लाका ३२ वर्षीय अहमद लडुन र ३३ वर्षीय महमद सहामलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुबास चन्द्र बोहराले सीमा क्षेत्रबाट राजधानीसम्म फैलिएको लागूऔषध तस्करी सञ्जालको अनुसन्धान जारी रहेको र घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको जानकारी दिए।

प्रहरीले बरामद लागूऔषधको स्रोत, गन्तव्य र तस्करी सञ्जालको संरचनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया