उर्लाबारी/ न्यायका विषय अदालत वा कार्यालयसम्म मात्र सीमित नरहोस् भन्ने उद्देश्यसहित उर्लाबारी नगरपालिकाको न्यायिक समिति समुदायस्तरमै पुगेर कानुनी सचेतना फैलाउन सक्रिय बनेको छ ।
स्थानीयबासीलाई आफ्ना अधिकार, कानुनी व्यवस्था र न्यायिक प्रक्रियाबारे जानकारी गराउने लक्ष्यका साथ समितिले विभिन्न वडामा सञ्चालन गरेको ‘लक्षित समुदायलाई कानुनी शिक्षा’ कार्यक्रम गरेको हो ।
समितिले यही जेठ २८देखि ३१ गतेसम्म वडा नं. २, १, ८ र ९ मा कार्यक्रम सञ्चालन गरेको थियो । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना कुमारी खतिवडा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायिक समिति सदस्य रुद्रप्रसाद लामिछाने, अमृता नेपाली तथा कानुन अधिकृत निर्मलकुमार पौडेलको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत जेठ २८ गते वडा नं. २ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष राजन कँडेल प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । त्यसैगरी जेठ २९ गते वडा नं. १ मा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य शान्ता कुमारी विक तथा वडा सदस्यहरू टिका भुजेल, गौरीशंकर दाहाल र गणेशकुमार माझी सहभागी भएका थिए । जेठ ३० गते वडा नं. ८ मा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य कल्पना रोक्का, वडा सदस्य चन्द्र डाँगी तथा डम्बर बरालको उपस्थिति रहेको थियो । अन्तिम दिन जेठ ३१ गते वडा नं. ९ मा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नरबहादुर मोक्तान प्रमुख अतिथि तथा वडा सदस्य विमला लिम्बु अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा स्थानीय नागरिकलाई नागरिक अधिकार, स्थानीय तहको न्यायिक प्रक्रिया, न्यायिक समितिको भूमिका, मेलमिलापको महत्व, महिला तथा बालअधिकार, घरेलु हिंसा, सामाजिक न्याय तथा कानुनी उपचारका विषयमा जानकारी प्रदान गरिएको थियो ।
सहभागीहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका कानुनी जटिलता र विवाद व्यवस्थापनका विषयमा जिज्ञासा राख्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।
न्यायिक समितिका अनुसार न्यायमा नागरिकको पहुँच बढाउनुका साथै कानुनी जानकारीको अभावका कारण उत्पन्न हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
समुदायमै पुगेर गरिएको यस्तो अभियानले नागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा मेलमिलाप र विवाद समाधानको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय तहको न्यायिक अधिकार र नागरिकको अधिकारबीचको दूरी घटाउने प्रयासस्वरूप सञ्चालन गरिएको उक्त कार्यक्रमलाई सहभागीहरूले प्रभावकारी र समयसापेक्ष पहलका रूपमा लिएका छन् ।
उर्लाबारी न्यायिक समितिले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।







