ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु भएको छ । हरेक वर्ष लाखेजात्राको अवसर सञ्चालन हुने प्रतियोगिताको तयारी स्वरुप लाखेजात्रा सञ्चालन समितिले खेलमैदान मर्मत तथा आवश्यक छलफलको कार्य सुरु गरेको हो ।

दुबो संरक्षण गरि हरियाली बनाउन भानुजन माध्यमिक विद्यालयको खेलमैदानको घेराबारा गरिएको छ । अभ्यासका खेलहरू सञ्चालन हुँदा हुर्कंदै गरेको दुबोमा क्षति पुग्ने भएकाले खेलमैदान अस्थायी रुपमा बारेर सुरक्षित गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार अभ्यास खेलका लागि समितिले अन्य क्षेत्रमा मैदान उपलब्ध गराएको छ ।

वर्षायाममा मैदान हिलाम्मे हुने समस्या भएकाले खेल सञ्चालन हुनु करिब ६ महिना अघि देखि नै संरक्षणमा जुटिएको मादेनको भनाइ छ । खेलमैदानको अलवा गोल्ड कपका सञ्चालनका लागि आवश्यक पर्ने बजेटका विषयमा समेत सम्बन्धित सरोकारवालासँग छलफल तथा समन्वयको कार्य जारी रहेको समितिले जनाएको छ ।

गत वर्षको प्रतियोगितामा करिब ९० लाख रुपियाँ बढी खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया