झापा। झापाको हल्दीबारी गाउँपालिका–३ गोरेचोक क्षेत्रमा मकै भाँच्ने क्रममा विशाल अजिङ्गर फेला परेपछि प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब १ः३० बजे स्थानीयवासी मकैबारीमा काम गरिरहेका बेला करिब ६ देखि ७ फिट लम्बाइ र करिब १२ किलोग्राम तौल भएको अजिङ्गर देखिएको थियो। अजिङ्गर देखिएपछि स्थानीयले तत्काल प्रहरी चौकी जलथलमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी तथा जनप्रतिनिधिको रोहबरमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारपछि अजिङ्गरलाई सोही क्षेत्र नजिक रहेको श्री रणकाली सामुदायिक वन मा लगेर सुरक्षित रूपमा छाडिएको जनाइएको छ।
प्रहरीले वन्यजन्तु र मानव दुवैको सुरक्षालाई ध्यानमा राख्दै कुनै क्षति नपुर्याई अजिङ्गरको उद्धार गरिएको जनाएको छ। पछिल्लो समय मानव बस्ती नजिक वन्यजन्तु देखिने घटनामा वृद्धि भइरहेका बेला स्थानीयलाई सतर्क रहन तथा यस्ता जनावर देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ।







