सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अवैध रूपमा खोलाको बालुवा ओसारपसार गरिरहेको अवस्थामा एक ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार यहि जेठ २७ गते बुङबाट अस्पतालतर्फ जाँदै गरेको लु ४ त ६६० नम्बरको ट्र्याक्टरलाई रोकेर निरीक्षण गरिएको थियो। जाँचका क्रममा उक्त सवारीले वडा नं. १ अन्तर्गतको हुङ्गा खोलाबाट अनुमति बिना बालुवा संकलन गरी ढुवानी गरिरहेको भेटिएको प्रहरीले जनाएको छ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी गरेको पाइएपछि प्रहरीले ट्र्याक्टर, लोड गरिएको बालुवा र चालकलाई तत्काल आफ्नो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि मेडिकल (स्वास्थ्य परीक्षण) गराई आवश्यक प्रक्रियाका लागि महाकुलुङ गाउँपालिकाको जिम्मा बुझाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध दोहन रोक्न नियमित अनुगमन र निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ ।





