झापा : झापाको बिर्तामोड–२ चारपाने चोकमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइबीका कारण केही व्यक्तिले सार्वजनिक रूपमा दुर्व्यवहार गरेका थिए। घटनाका क्रममा उनको हात बिजुलीको पोलमा बाँधेर कालोमोसो दलिएको आरोप छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेमा कन्काई–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पुजा बस्नेत रहेका छन्। स्थानीयवासीले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक नम्भुकुमार माझीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट कालो मोबिल रहेको बट्टा तथा विभिन्न पम्प्लेट गरी १६ थान सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि घाइते भएकी सबिना नि राजवंशीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका चारै जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।सार्वजनिक स्थलमै युवतीमाथि गरिएको दुर्व्यवहारको घटनाले स्थानीय तहमा सुरक्षा र सामाजिक मर्यादासम्बन्धी प्रश्नसमेत उठाएको छ।







