कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २९ गते । सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तीन दिने सचेतनामुलका कार्यक्रम गर्ने भएको छ ।

रुपन्देहीका फरक–फरक स्थानमा तीनवटा विशेष कार्यक्रम आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जेठ ३० गतेदेखि असार १ गतेसम्म चल्ने कार्यक्रममा करिब पाँचसय जनाको सहभागिता रहने छ ।

बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ह्याकाथन (ह्याक फर सेफ्टी), लुम्बिनीमा शान्ति पदयात्रा तथा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामाजिक जनचेतना कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

फरक प्रकृति र क्षेत्रका सहभागीलाई लक्षित गरी यी कार्यक्रम तय गरिएका हुन् । प्रहरी तालिम केन्द्रमा हुने ‘ह्याक फर सेफ्टी’ मार्फत् प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नव प्रवर्तनकर्तालाई समेटिने प्रदेश प्रहरी प्रमुख खत्रीले बताउनुभयो ।

परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ । यो केवल प्रतियोगिता मात्र नभइ सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्ने प्रयास भएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने ‘पीस वाक’ मार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ । ‘शान्ति कायम राख्नु केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो, यस पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ’ प्रदेश प्रहरी प्रमुख खत्रीले भन्नुभयो ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने ‘सामाजिक सचेतना अभियान’ अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ । उक्त कार्यक्रममा बढ्दो साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिने बताइएको छ ।

प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार अनुसार यी कार्यक्रमहरू प्रकृति र स्थानका हिसाबले फरक देखिए पनि साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माण गर्नु रहेको छ ।

तपाईको प्रतिक्रिया