फिफा विश्वकपमा घरेलु मैदानमा खेल्दै गरेको अमेरिका उद्घाटन खेलमै पाराग्वेविरुद्ध महत्त्वपूर्ण प्रतिस्पर्धामा उत्रँदै छ । तीन दशकभन्दा बढी समयपछि आफ्नै भूमिमा विश्वकप खेल्न लागेको अमेरिकामाथि समर्थक र दर्शकहरूको ठूलो आशा छ ।
समूह ‘डी’ मा रहेको अमेरिका विश्व वरीयताको १७औँ स्थानमा रहँदा पाराग्वे ४१औँ स्थानमा छ । अमेरिकाले यस खेलमा जित हासिल गर्न नसके नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने सम्भावनामा असर पर्न सक्ने विश्लेषण गरिएको छ ।
अमेरिकाको अट्याकिङमा कप्तान क्रिस्टियन पुलिसिक, वेस्टन म्याकेनी, फोलारिन बालोगुन र मलिक टिलम्यान मुख्य रूपमा रहेका छन् । हालै सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका पुलिसिक टोलीका प्रमुख खेलाडी मानिन्छन् । तर, अमेरिकाको डिफेन्डिङ भने कमजोर देखिएको छ । पछिल्ला १३ खेलमध्ये केवल एक खेलमा मात्र टोलीले क्लिनसिट राखेको छ ।
पाराग्वेको बलियोपक्ष भनेको डिफेन्डिङ हो । यद्यपि, टोलीले गोल गर्न संघर्ष गरिरहेको छ । विश्वकप छनोटका १८ खेलमा १४ गोल मात्र गरेको पाराग्वेले मुख्य फरवार्ड जुलियो एन्सिसोलाई चोटका कारण उद्घाटन खेलमा गुमाउने भएको छ । उनको स्थानमा डिएगो गोमेजमाथि जिम्मेवारी बढ्ने अनुमान गरिएको छ ।
समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्किए रहेका छन् ।
अहिलेसम्म दुई टोलीबीच ९ पटक भेट हुँदा अमेरिकाले ५ खेल जितेको छ भने पाराग्वेले २ खेल जितेको छ । २ खेल बराबरीमा सकिएका छन् । पछिल्ला तीन भेटमा भने अमेरिका विजयी भएको छ ।







