फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी भएको छ । सहआयोजक समेत रहेको क्यानडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक/एक गोलको बराबरी खेलेको हो ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।
काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
विश्वकपको चौथो खेलमा अहिले बिहान पौने ७ बजे आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन् । सन् २०१० पछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेको थिएन । अमेरिकाले १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो ।
विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरुआत गरेका छन् ।







