डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख अनिल राज गिरीले साप्ताहिक निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्दै प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक निर्देशन दिनुभएको छ।
कार्यक्रमअन्तर्गत डिएसपी गिरीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, विभिन्न शाखा, हिरासत कक्ष, ब्यारेक, मेस तथा कार्यालय परिसरको समग्र अवस्थाको निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थापन, सेवाग्राहीमैत्री व्यवहार, कार्यसम्पादनमा चुस्तता तथा संगठनात्मक प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने विषयमा विशेष जोड दिनुभएको बताइएको छ।
उहाँले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र व्यावसायिक बन्न आग्रह गर्दै नागरिकको विश्वास कायम राख्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। साथै कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न निरन्तर मेहनत, सकारात्मक सोच र उच्च मनोबल आवश्यक रहेको उल्लेख गर्नुभयो।
निरीक्षणकै क्रममा व्यक्तिगत टर्नआउटतर्फ उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको थियो। यसले प्रहरी कर्मचारीहरूमा प्रतिस्पर्धात्मक भावना, अनुशासन र कार्यप्रति थप उत्साह बढाउने विश्वास व्यक्त गरिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले नियमित रूपमा सञ्चालन गर्दै आएको यस्तो निरीक्षण तथा निर्देशन कार्यक्रमले संगठनभित्रको कार्यदक्षता, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजान महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







