ओखलढुंगा, जेष्ठ २५ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गालाई ब्रेथ लाइजर मेसिन, टाइम कार्ड र ह्विल लक तथा प्रहरी चौकी मानेभञ्ज्याङलाई प्रिन्टर हस्तान्तरण गरेको छ।
मानेभञ्ज्याङ गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गालाई १ थान ब्रेथ लाइजर मेसिन, २ हजार पिस टाइम कार्ड र ५ थान ह्विल लक हस्तान्तरण गरेको हो। त्यसैगरी, प्रहरी चौकी मानेभञ्ज्याङलाई १ थान प्रिन्टर प्रदान गरिएको छ।
गाउँपालिकाको सहयोगले ट्राफिक नियम कार्यान्वयन, मापसे परीक्षण, सवारी साधनको निगरानी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै प्रहरी चौकीको प्रशासनिक कार्यसम्पादन र नागरिकलाई प्रदान गरिने सेवामा समेत सहजता आउने विश्वास गरिएको छ।
स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई मजबुत बनाउँदै नागरिक सुरक्षालाई प्राथमिकतामा राखेको गाउँपालिकाको यो कदमलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ। गाउँपालिकाले विकास निर्माणसँगै शान्ति सुरक्षा र सुशासनलाई पनि उत्तिकै महत्व दिँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया