माेरङ – जिपी कोइराला फाइभ ए साइड महिला हकी च्याम्पियन्सीपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।

विराटनगरस्थित सायस फुटसल एरिनामा शनिबार भएको उपाधि भिडन्तमा आर्मीले गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसंगै आर्मीले ५० हजार रुपैया हात पारेको छ। कोशी प्रदेशमा पहिलोपटक आयोजित महिला हक्कीको उपाधि हात पार्ने क्रममा आर्मीका लागि निलिमा पाण्डेले तीन र सुनिता नेगीले दुई गोल गरेकी थिइन्। गण्डकीका लागि मयुरी राईले दुई र सोनु बरालले एक गोल गरेकी थिइन्।

च्यम्पियन्सीपमा आर्मीकी सविना केसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन्। त्यसैगरि, उदयीमान खेलाडी मधेश प्रदेशकी लक्ष्मनीयाँ दास भइन्। च्याम्पियन्सीप आयोजक जिपी कोइराला स्पोर्टस एकेडेमीका रञ्जन थापाले उपविजेतामा सीमित बनेको गण्डकी प्रदेशले २५ हजार रुपैया हात पारेको जानकारी दिए।

च्याम्पियन्सीपमा घरेलु टोली कोशी प्रदेशसहित गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश सहभागी थिए। त्यसैगरि, विभागीयतर्फबाट आर्मीले सहभागिता जनाएको थियो। विजयी टोली र खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्यालले पुरस्कार वितरण गरेका थिए।

उपाधि हात पारेको आर्मीको टोलीले च्याम्पियन्सीपको सबै ४ खेलमा जित हात पारेको थियो। त्यसैगरी, ४ खेलमा २ मा जिते हात पारेको गण्डकीले एकमा हार र एकमा बराबरी खेलेको थियो। च्याम्पियन्सीपमा कोशी प्रदेशको टोली ४ अंकसहित चौथो स्थानमा सीमित भयो।

तपाईको प्रतिक्रिया