सोलुखुम्बु– सोलुखुम्बु र ओखलढुंगा जिल्लाको सिमानास्थित पिके पीक क्षेत्रमा ‘एभरेष्ट बुद्ध भ्यू पार्क’ निर्माणको तयारी तीव्र पारिएको छ। समुद्री सतहबाट करिब १० हजार २०० फिटको उचाइमा निर्माण हुन लागेको उक्त पार्कको उद्घाटन आगामी अक्टोबर २८ देखि ३१, २०२६ सम्म गर्ने योजना बनाइएको छ।

पिके पीक क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले पार्क निर्माणको अवधारणा अघि सारिएको हो। परियोजनाका अभियान्ता एसी शेर्पाका अनुसार पार्क निर्माण सम्पन्न भएपछि सोलुखुम्बु क्षेत्रको मनमोहक हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा बौद्ध धार्मिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पार्कमा आर्थिक तथा अन्य सहयोग गर्ने व्यक्ति, व्यवसायी र संघसंस्थाको नाम स्थायी रूपमा अभिलेखीकरण गरिने व्यवस्था समेत गरिने जनाइएको छ। परियोजनालाई सफल बनाउन विभिन्न संरचना निर्माणका लागि प्रायोजन (स्पोन्सरशिप) आह्वान गरिएको छ।

योजना अनुसार आगन्तुकको सुविधाका लागि २५ वटा विश्राम बेन्च निर्माण गरिनेछ। प्रत्येक बेन्च निर्माणका लागि ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। यस्तै, २० भन्दा बढी सवारीसाधन अट्ने पार्किङ क्षेत्र निर्माणका लागि ८ लाख रुपैयाँ, बगैंचा तथा संरचनात्मक ल्यान्डस्केप विकासका लागि १७ लाख रुपैयाँ, हेलिप्याड निर्माणका लागि ३ लाख रुपैयाँ तथा महिला–पुरुष शौचालय निर्माणका लागि १० लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ।

अभियान्ता शेर्पाले परियोजनामा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई योगदानका लागि आग्रह गर्दै यस अभियानले स्थानीय पर्यटन, रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। पार्क निर्माण सम्पन्न भएपछि पिके पीक क्षेत्रलाई थप आकर्षक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया