विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। शनिबार साँझ बीपी चोकस्थित लक्ष्मीनारायण मन्दिरअगाडि २४ वर्षीय निरजकुमार यादवमाथि गोली प्रहार भएको थियो।
घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेको जनाएको छ। पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादव छन्। घटनामा ५ देखि ६ जनासम्मको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताए।
गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको पछाडिको कम्मरमुनिको दायाँ भागमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरी निकालिएको छ। हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रञ्जिव झाको नेतृत्वमा चिकित्सक टोलीले शल्यक्रिया गरेको र यादवको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार यादव आफ्ना छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका थिए। लक्ष्मीनारायण मन्दिरनजिक पुगेपछि उनीहरूमाथि गोली प्रहार भएको प्रारम्भिक विवरण छ।
युवतीको विषयमा भएको विवाद नै कारण
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको पृष्ठभूमिमा युवतीको विषयलाई लिएर केही दिनअघि भएको विवाद देखाएको छ। उक्त विवादपछि उत्पन्न रिसइबीका कारण यादवमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीको भनाइ छ।
डीएसपी खड्काका अनुसार पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न भनिएका अन्य व्यक्तिको खोजी भइरहेको छ।
‘घटना पुरानो रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवतीको विषयलाई लिएर केही समयअघि युवाहरूबीच विवाद भएको भन्ने जानकारी आएको छ,’ डीएसपी खड्काले भने, ‘फरार रहेका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएपछि घटनाको थप यकिन विवरण खुल्छ।’
घटना गाँजा तस्करीसँग जोडिएको हुन सक्ने चर्चा चले पनि प्रहरीले अहिलेसम्म त्यसको पुष्टि हुने कुनै आधार फेला नपरेको जनाएको छ। अनुसन्धानका क्रममा गाँजा वा अन्य कुनै वस्तुको तस्करीसँग घटनाको सम्बन्ध देखिएको छैन।
गोलीको स्रोत पत्ता लगाउन परीक्षण
घटनास्थलबाट प्राप्त विवरण तथा घाइतेको शरीरबाट निकालिएको गोलीका आधारमा प्रहरीले प्रयोग भएको हतियार पहिचान गर्ने तयारी गरेको छ। बरामद गोली परीक्षणका लागि पठाइने र त्यसबाट कुन प्रकृतिको हतियार प्रयोग भएको हो भन्ने यकिन गरिने डीएसपी खड्काले बताए।
प्रहरीका अनुसार गोली साना हतियारमा प्रयोग हुने प्रकृतिको देखिए पनि प्रयोग भएको हतियार र गोलीको वास्तविक प्रकृति प्रयोगशाला परीक्षणपछि मात्रै पुष्टि हुनेछ।
घटनामा संलग्न भनिएका अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले गोली प्रहारको वास्तविक कारण, प्रयोग भएको हतियार र घटनामा संलग्न सबै व्यक्तिको भूमिकाबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।





