काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र विभिन्न बैंकहरूको कन्सोर्टियमबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी तथा क्रिष्टल पावर डेभलपमेन्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

करिब २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सम्मिलित कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमता वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना समेत व्यक्त गरे।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने सुपर तमोर जलविद्युत आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ। आयोजना निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ग्लोबल आइएमई बैंकले हाल मुलुकका ७७ वटै जिल्लामा बैंकिङ सेवा विस्तार गरेको छ। बैंकका ३४४ शाखा, ३८५ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन्।

बैंकले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट एम्प्लोयर’ लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया