विराटनगर, १७ जेष्ठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि राज्यले ढुवानी व्यवशायलाई हेर्ने नजरमा परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै ढुवानी व्यवशायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर डुम्जनले ढुवानी व्यवशायलाई मर्यादित पेशा बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघका सल्लाहकार मेघराज सिग्देलले एक क्षेत्रमा दर्ता भएको व्यवशायले अर्को क्षेत्रमा गएर काम गर्दा त्यस क्षेत्रको व्यवशायी मारमा पर्ने भएकोले यसबारे बिचार गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ट्रक व्यवसायी संघ इटहरीका अध्यक्ष विद्यापति उपाध्याय, ईटहरी ढुवानी एजेन्ट संघका अध्यक्ष केशव गिरी, नेपाल पत्रकार महासंघ कोशीका पूर्वअध्यक्ष विक्रम लुइटेललगायतले ढुवानी व्यवसायलाई व्यवस्थित र सम्मानित पेशाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसक्षेत्रलाई राज्यले सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले ढुवानी व्यवसाय सञ्चालनमा देखिएका कर, सडक यातायात तथा प्रशासनिक झन्झटहरू हटाई व्यवसायलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । उनीहरुले व्यवसायीहरूले आफ्ना कमी–कमजोरी सुधार गर्दै संस्थालाई समाजकै उत्कृष्ट र अनुकरणीय संस्थाका रूपमा विकास गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
ढुवानी व्यवसायी संघका अध्यक्ष सोमप्रसाद भट्टराई (शम्भु) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव युवराज श्रेष्ठ तथा कोषाध्यक्ष केशव कार्कीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ । प्रतिवेदनमा संस्थाले हालसम्म हाँसिल गरेका प्रगति, संस्थागत गतिविधि तथा आर्थिक अवस्थाबारे जानकारी समेटिएको छ ।







