काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् ।
उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्पादन र पैठारी रोक्नेलगायत विज्ञापनहरू पनि बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।उनले भने, ‘सोसल मिडियामा भइरहेको विज्ञापन रोक्नुपर्छ । यसका लागि अलि कडा नियम, उत्पादन, पैठारी रोक्ने जस्तादेखि लिएर विज्ञापनहरू बन्द गर्नुपर्ने अवस्था देखिन्छ ।’
उनले सार्वजनिक स्थानमा धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपमा निरुत्साहित गर्नुपर्ने र समुदायस्तरमै यसको नियन्त्रणका लागि पहल आवश्यक रहेको धारणा राखे ।
उनले गाउँघरतिर गुट्खा र बिँडी रोक्न नसकेको बताउँदै यसलाई रोक्नको लागि अहिलेदेखि कदम चालिएन अश्यकता रहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले गाउँघरतिर गुट्खा र बिँडी रोक्न सकेका छैनौँ, यसलाई रोक्नको लागि अहिलेदेखि कदम चालिएन भने अब रोक्न गाह्रो हुन्छ ।‘पछिल्लो समय युवापुस्तामा, विशेषगरी महिलाहरुमा समेत यसको प्रयोग फेसनका रूपमा फैलिन थालेको उनको दाबी गरे ।
महिलाहरूमा ई–सिगरेट अर्थात भेपप्रतिको आकर्षणबारे थप अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई त्यसतर्फ ध्यान दिन आग्रह समेत गरे । उनले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।







