विराटचाेक / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने ‘स्किल डेभलपमेन्ट ट्रेनिङ फर क्याम्पस एड्मिनिस्ट्रेटिभ स्टाफ’ तालिम आइतबारदेखि सुरु भएको छ। सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित तथा विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोगमा सञ्चालित तालिम १९ गतेसम्म क्याम्पसको हल नं. ३ मा सञ्चालन भएको हाे ।
तालिमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका क्षेत्रीय परीक्षा नियन्त्रक गोविन्द गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले उच्च शिक्षाका संस्थाहरूमा प्रशासनिक दक्षता, अभिलेखीकरण र प्रविधिमैत्री कार्यशैलीको आवश्यकता बढ्दै गएको बताउनुभयो।

तालिममा गुणस्तर सुनिश्चितता (QAA) प्रक्रिया तथा अभिलेखीकरण, डिजिटल सीप विकास, संस्थागत समस्या पहिचान र प्राथमिकता निर्धारण, समस्या समाधान प्रक्रिया, सार्वजनिक खरिद तथा अभिलेख व्यवस्थापन, कार्यस्थलमा आवश्यक सफ्ट स्किल र व्यक्तित्व विकासलगायत विषयमा प्रशिक्षण प्रदान गरिने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

तालिममा तेह्रथुम, तनहुँ लगायत विभिन्न जिल्लाका तथा छिमेकी क्याम्पसका प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको छ। तालिममा ममता प्रजापतिले QAA प्रक्रिया र अभिलेखीकरणमा प्रशासनिक कर्मचारीको भूमिका, सुरेश बस्नेतले डिजिटल सीप विकास, खिलानाथ निरौलाले संस्थागत समस्या व्यवस्थापन र समस्या समाधान सीप, चन्द्रमणि राईले कार्यस्थल सफलताका लागि आवश्यक सफ्ट स्किल, लिला अनमोलले व्यक्तित्व विकास तथा चूडामणि तिम्सिनाले सार्वजनिक खरिद प्रक्रिया र अभिलेखीकरण विषयमा सहजीकरण गर्नुहुने कार्यक्रम रहेको छ।

कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले राख्नुभएको थियो। क्याम्पसले यस्ता तालिममार्फत प्रशासनिक कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै शैक्षिक संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया