प्रविण मुनाल,ओखलढुंगा । गणतन्त्र दिवस २०८३ को अवसरमा ओखलढंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा विशेष कार्यक्रम गरी दिवस मनाइएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा सम्पन्न कार्यक्रममा ओखलढुंगा, खोटाङ र उदयपुरका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको जोर्तीघाटमा तीन जिल्लालाई जोड्ने दुई वटा झोलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई र खोटाङका पूर्व सांसद टंकबहादुर राईले संयुक्त रूपमा रिबन काटेर पुल उद्घाटन गरेका छन् ।

निर्माण सम्पन्न पुलमध्ये ओखलढुंगा–खोटाङ जोड्ने पुल १३४ मिटर तथा ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लम्बाइको रहेको जनाइएको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक, ललितपुर र अप्पर तामाकोशी जेकेजेभीबीच २०८१ असारमा निर्माण सम्झौता भएको थियो ।

विकट भूगोल तथा उदयपुरतर्फ पुलका ब्लक राख्ने स्थान तय गर्न समय लागेका कारण निर्माण कार्य निर्धारित समयभन्दा करिब छ महिना ढिलो सुरु भएको निर्माण कम्पनीका सञ्चालक प्रकाश डाँगीले जानकारी दिए । करिब तीन करोड ३१ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरिएको जनाइएको छ । दुवै पुलका ब्लक भने ओखलढुंगातर्फ राखिएका छन् ।

राष्ट्रिय गानका सर्जक ब्याकुल माईला (प्रदीपकुमार राई)को पहलमा तीन जिल्लालाई जोड्ने पुल निर्माण भएको बताइएको छ । कार्यक्रममा स्थानीयवासीले नदी किनारमा पूजाआजा गरेका थिए भने खोटाङका कलाकारहरूले साकेला नाच प्रस्तुत गरेर सांस्कृतिक माहोल थप उत्साहपूर्ण बनाएका थिए ।

स्थानीयवासीले पुल सञ्चालनसँगै ओखलढुंगा, खोटाङ र उदयपुरबीच आवतजावत सहज हुनुका साथै व्यापार, कृषि उत्पादन ढुवानी र सामाजिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरेका छन् ।

सुनकोशी र दुधकोशी नदीको संगमस्थल, प्राकृतिक दृश्य, धार्मिक महत्व र तीन जिल्लाको संगम बिन्दु भएकाले जोर्तीघाट आगामी दिनमा महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने स्थानीयको विश्वास छ । पुल निर्माणपछि यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने र स्थानीयस्तरमा होटल, व्यापार तथा पर्यटनजन्य गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया