नेपाल मेडिकल काउन्सिलले आफ्नो नामअगाडि गैरकानूनी रुपमा ‘डाक्टर’ लेख्नेलाई १५ दिनभित्र हटाउन निर्देशनयुक्त चेतावनी दिएको छ । काउन्सिलका अनुसार अवैध रुपमा आफ्ना आधिकारिक कागजपत्र, प्रेस्किप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालमा लेखिएको डाक्टर पूर्ण रुपमा हटाउनुपर्ने छ ।

सूचनाको म्याद सकिएलगत्तै विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट अनुगमन गर्ने र अवैध रुपमा डाक्टर लेखेको पाइएमा त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायका लागि सिफारिस गर्ने काउन्सिलले बताएको छ ।

सूचनामा भनिएको छ, ‘मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुबाहेक अन्य जुनसुकै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिहरुको नामको अगाडि मात्र डा. उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा सो कार्य काउन्सिलको ऐनको (२६) उपदफा (१) र दफा (२७) उपदफा (१) बमोजिमको व्यवस्थाविपरीत भएको ठहरिने र दफा (२६) (उपदफा (३) र (२७) उपदफा (२) बमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायका लागि सिफारिस गरिनेछ ।’

तपाईको प्रतिक्रिया