बुटवल: नगरपालिकाका माध्यमबाट बालअधिकार संरक्षण, बाल विकास तथा बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाहरूले १५ बुँदे समन्वयात्मक प्रतिबद्धता सार्वजनिक गरेका छन्।

नेपाल नगरपालिकाका संघ, लुम्बिनी प्रदेशको पहलमा तयार गरिएको उक्त प्रतिबद्धतामा बाल संरक्षण, बाल सहभागिता, बाल विवाह न्यूनीकरणदेखि बालमैत्री शासन प्रणाली सुदृढीकरणसम्मका विषय समेटिएका छन्।

प्रतिबद्धताअनुसार पालिकास्तरमा बाल क्लब तथा वडा तहमा बाल समूह गठन गरी तिनको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। जिल्ला स्तरमा बाल क्लबको गठन, परिचालन र सुदृढीकरणका लागि सामाजिक विकास डिभिजन तथा प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उल्लेख छ।

त्यस्तै, जिल्ला तथा पालिकास्तरमा बालअधिकार समिति गठन तथा पुनर्गठन गरी संस्थागत क्षमता अभिवृद्धि गरिने प्रतिबद्धता जनाइएको छ। बालअधिकार समिति तथा बाल संरचनालाई थप सुदृढ बनाउन प्रदेश सरकारसँग समन्वय गरी क्षमता विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

प्रतिबद्धतामा बाल कल्याण अधिकारी नियुक्त नभएका नगरपालिकामा आवश्यक नियुक्ति तथा तोक्ने कार्यलाई सहजीकरण गरिने उल्लेख गरिएको छ। बालमैत्री स्थानीय शासन घोषणा गरिसकेका नगरपालिकाबीच अनुभव आदानप्रदान तथा सिकाइ बैठक सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिने पनि जनाइएको छ।

बालअधिकारसम्बन्धी अभिभावक शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेर कार्यान्वयन गरिने, बालविवाहसम्बन्धी अवस्था विश्लेषण तथा अध्ययनका लागि नगरपालिकालाई प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धतामा उल्लेख छ।

यस्तै, प्रदेशभर बालश्रमको अवस्था पहिचान, अनुगमन तथा न्यूनीकरणका लागि समन्वयात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रत्येक नगरपालिकामा बालबालिकाको “चाइल्ड प्रोफाइल” निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन र प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गरिएको छ।

प्रतिबद्धतामा स्थानीय तहमा बालबालिकासम्बन्धी तथ्यांक व्यवस्थापन प्रणाली सुदृढ गर्न प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गरिने, बाल संरक्षण, बाल सहभागिता र बाल विकास कार्यक्रमलाई नीति, योजना तथा बजेटमा मूलप्रवाहमा समावेश गरिने विषय पनि समेटिएको छ।

स्थानीय तह, प्रदेश सरकार, सामाजिक विकास डिभिजन, विद्यालय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य सुदृढ गरिने तथा माथि उल्लिखित कार्यक्रमहरूको निरन्तर अनुगमन गर्दै बाल अधिकार संरक्षणलाई संस्थागत बनाइने प्रतिबद्धतामा उल्लेख छ।

नगरपालिका संघ, लुम्बिनी प्रदेशले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्दै सुरक्षित, समावेशी, सिर्जनशील तथा बालमैत्री समाज निर्माणमा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

उक्त प्रतिबद्धतापत्रमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, बर्दघाट नगरपालिका, रेसुंगा नगरपालिका, सुनवल नगरपालिका, प्युठान नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश, सेभ द चिल्ड्रेन र पिस नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल नगरपालिका संघ लुम्बिनी संयोजक खिलध्वज पन्थी, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्मा, तिलोत्तमा बालक्लबका महिमा खनाललगायतले बोल्दै बालअधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया