विराटनगर । एजुकेसन मोटिभेसन ट्रेनिङ विराटनगरमा सम्पन्न भएको छ । नेपाल युवा संरक्षक मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल युवा संरक्षक मञ्चकी अध्यक्ष निशा श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिए । उनले विद्यार्थी तथा युवाहरूलाई शिक्षा, अनुशासन र सकारात्मक सोचमार्फत सफलताको बाटोमा अघि बढ्न आग्रह गरे । युवाहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा समाजप्रति जिम्मेवार बन्न यस्ता तालिम प्रभावकारी हुने उनको भनाइ थियो ।

त्यसैगरी, लेटाङ नगरपालिकाका प्रशिक्षक बेदेन्द्र कुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । उनले समयअनुसार सीप र व्यवहारिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी लक्ष्यअनुसार अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले विद्यार्थीहरूको व्यक्तित्व विकासमा यस्ता प्रेरणामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधीर यादवले शिक्षासँगै नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले तालिम उपलब्धिमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया