विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका चिकित्सकहरू सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी केन्द्रित भएको जनगुनासो आएपछि बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा अस्पतालको अवस्था अत्यन्तै लथालिङ्ग र भद्रगोल पाइएको छ ।
बुधबार बिहान ११ बजेतिर अस्पताल पुग्दा एक अचम्मको दृश्य देखियो । अस्पतालका कर्मचारी र चिकित्सकहरू ‘सरसफाई सप्ताह’ मनाउन भन्दै कार्यालयको बाहिरी भाग सफा गरिरहेका थिए । तर, बाहिर चम्काउने अभियान चलिरहँदा अस्पतालको भित्री सेवा र प्रशासनिक अवस्था भने अन्धकारमय भेटियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा गएको अनुगमन टोली अस्पताल पुग्दा मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। राम नारायण चौधरी आफैं बाहिर कुचो लगाउँदै सरसफाईमा व्यस्त थिए । प्रशासनको टोली आएको सूचना पाएलगत्तै उनी हतार–हतार आफ्नो कार्यकक्षमा पुगेका थिए ।
टोलीले कर्मचारी र चिकित्सकहरूको हाजिरी माग गर्दा विवरण त फेला पर्यो, तर त्यो केवल कागजमा मात्र सीमित देखियो । अस्पतालमा कार्यरत ७ सयभन्दा बढी कर्मचारीमध्ये १३७ जना कार्यस्थलमा अनुपस्थित भेटिएका छन् । झन् उदेकलाग्दो कुरा त के छ भने, हाजिरी रजिस्टरमा हाजिर भएका धेरै चिकित्सकहरू आफ्नो कार्यकक्षमा थिएनन् । उनीहरू कहाँ छन् भन्ने जानकारी न त मेसुसँग थियो, न विभागीय प्रमुखसँग नै ।
अनुगमन टोलीले अस्पतालका विभिन्न वार्ड र ओपिडीको निरीक्षण गर्दा हाजिर भएका भनिएका चिकित्सकहरूको उपस्थिति नभेटिएपछि प्रशासनले यसलाई गम्भीर लापरवाहीका रूपमा लिएको छ । कुन चिकित्सक कुन समयमा आए, कुन समयमा गए र हाल कहाँ कार्यरत छन् भन्ने न्यूनतम तथ्याङ्कसमेत अस्पताल प्रशासनले उपलब्ध गराउन सकेन । कतिपय कर्मचारी हाजिर गरेर विदामा बसेका थिए वा निजी क्लिनिकतिर लागेका थिए भन्ने विवरणसमेत गोप्य नै रह्यो ।
अनुगमनका क्रममा केही चिकित्सकहरूले भने प्रशासनको टोलीलाई दुख दिएको भन्दै रुष्ट बनेका थिए ।
अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले अस्पतालको अवस्था ‘लथालिङ्ग’ रहेको भन्दै कडा असन्तुष्टि पोखे । उनले भने, ‘हाजिर गर्ने डाक्टर पनि कता छन् कता कुन डाक्टर आफ्नो जिम्मेवारीमा कहाँ छन् भन्ने समेत अस्पताल प्रशासनलाई थाहा छैन । अस्पतालको प्रशासनिक पक्ष निकै कमजोर र गैरजिम्मेवार देखियो ।’
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राम नारायण चौधरीले भने प्रशासनको भनाइलाई अस्वीकार गर्दै अस्पतालमा पहिलाको तुलनामा धेरै सुधार भएको दाबी गरेका छन् । उनले बाहिरको सरसफाईजस्तै भित्री व्यवस्थापनमा पनि सुधार हुँदै गएको जिकिर गरे ।
प्रशासनले भने अनुपस्थित कर्मचारी र कार्यस्थलमा नभेटिएका चिकित्सकहरूको विषयमा थप छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया