विराटनगर / उद्योग संगठन मोरङले निजी क्षेत्रका संस्थाबीच अझ सशक्त सहकार्य र साझा एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्वअध्यक्ष सुशय प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व तथा विराट व्यापार संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्न उद्योग संगठन मोरङ सचिवालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका साझा मुद्दामा संस्थागत एकता अपरिहार्य रहेको धारणा राखिएको हो ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यवसायिक हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारका लागि निजी क्षेत्रका संस्थाबीच समन्वय र सहकार्य अझ प्रभावकारी बन्नुपर्ने बताए । बजारमा देखिएका चुनौती, कर प्रणालीका जटिलता, सीमावर्ती व्यापारका समस्या, डिजिटल व्यापार विस्तार तथा साना–मझौला उद्यम संरक्षणजस्ता विषय निजी क्षेत्रका साझा चासोका रूपमा उभिएको उल्लेख गर्दै उनले समाधानका लागि संयुक्त पहल आवश्यक रहेको धारणा राखे ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित पूर्वअध्यक्ष सुशय प्याकुरेलले उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि नीति संवादलाई सशक्त बनाउनुपर्ने बताए । उनले कर तथा श्रमसम्बन्धी जटिलता न्यूनीकरण, बैंक तथा वित्तीय क्षेत्रसँग सहजीकरण र व्यवसायमैत्री कानुनी संरचना निर्माणका लागि निजी क्षेत्रबीच साझा पहल अपरिहार्य रहेको उल्लेख गरे । निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्न संस्थागत सहकार्य निर्णायक हुने उनको भनाइ थियो ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको औद्योगिक तथा व्यावसायिक सम्भावना उपयोग गर्न प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग सहकार्य आवश्यक रहेको बताए । लगानी आकर्षण, औद्योगिक पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन तथा कृषिमा आधारित उद्योग विस्तार, युवा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रबीचको ऐक्यबद्धता महत्त्वपूर्ण हुने उनले बताए ।
विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवालले स्थानीय व्यवसायीको मनोबल उच्च राख्ने, बजारलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिने बताए । व्यवसायीका समस्या प्रभावकारी रूपमा उठाउने, कर सचेतना अभिवृद्धि गर्ने तथा उपभोक्तामैत्री बजार निर्माणमा संघले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रका संस्थाबीच विगतदेखि नै साझा मुद्दामा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा उद्योग, व्यापार, बजार व्यवस्थापन तथा व्यवसायिक अधिकार संरक्षणका विषयमा अझ परिणाममुखी सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।
संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्र केवल व्यापारिक गतिविधिमा सीमित नरही आर्थिक, सामाजिक तथा क्षेत्रीय विकासको प्रमुख साझेदारका रूपमा स्थापित भइसकेको बताए । निजी क्षेत्रका संस्थाबीचको सहकार्यले समग्र उद्योग तथा व्यवसाय क्षेत्रलाई सकारात्मक दिशा दिने उनको धारणा थियो ।







