मोरङ – मोरङमा माध्यमिक शिक्षा परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीको संंख्यामा उल्लेख्य वृद्धि भएको छ। विराटनगरस्थित शिक्षा विकास तथा समन्वय इकाइ मोरङका अनुसार गत वर्षको तुलनामा यस पटक ७९ जनाले ४ जिपिए ल्याएका छन्।
कार्यालयका अनुसार गत वर्ष १८ जना विद्यार्थीले ४ जिपिए ल्याएको इकाइले जनाएको छ। सामुदायिक विद्यालयतर्फ पोखरिया माध्यमिक विद्यालयबाट ४ सय ५६ परीक्षार्थीमध्ये ४ सय ५४ जना उत्तीर्ण भएका छन्। जसमा ११ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन्।
प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार विद्यालयलाई अघिल्लो वर्षको झैं उत्कृष्ठ नतिजा दिलाउन विद्यार्थी, अभिभावक तथा शिक्षकको भूमिका अहम रहेको छ।
त्यसैगरी, संस्थागत विद्यालयतर्फ विराटनगरकै वालकल्याण विद्या मन्दिर बीकेभीएमले पनि उत्कृष्ठ नतिजा हासिल गरेको छ। बीकेभीएमबाट यसपटक १८ जनाले सो नतिजा ल्याएका छन्। जुन गत वर्ष ४ जनामा कायम थियो। यस विद्यालयबाट २ सय २७ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ देखि ३ दशमलव ६१ जिपिए ल्याउन सफल भएका छन्।
त्यसैगरी, विराटनगरकै सत्यनारायण माविबाट पहिलोपटक ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन्। त्यसैगरी, आदर्श माध्यमिक विद्यालयबाट २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।
विराटनगरबाहिर उर्लाबारी नगरपालिकाको राधिका माविबाट मनिका लामिछाने र सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना माविबाट सोयाङ राईले ४ जिपिए ल्याएका छन्।
सुन्दरहरैंचास्थित सिद्धार्थ बोर्डिङ स्कुलका ६, विराटनगरको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका ४ तथा बूढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलका ३ विद्यार्थीले ४ जीपीए ल्याएका छन्।







