उर्लाबारी, मोरङ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित दुर्गा मन्दिर परिसरमा आज एक दिने निःशुल्क आँखा जाँच तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय उर्लाबारी र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा मंगलबार सो शिविर सञ्चालन गरिएको हो। शिविरलाई उर्लाबारी नगरपालिका वडा नं. ७ को वडा कार्यालयले प्राविधिक तथा स्थानीय सहकार्य गरेको थियो।
शिविरमा १५० जना स्थानीय बासिन्दाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा संस्थामा आबद्ध सदस्यहरूका साथै गैर-सदस्य, वृद्धवृद्धा, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
शिविरमा वरिष्ठ चिकित्सकहरूद्वारा आँखाको परीक्षण र जनरल चेकजाँच गरिनुका साथै बिरामीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह, सुझाव र परामर्श प्रदान गरिएको थियो। परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ।
संस्थाले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने जीवन विकास लघुवित्त वित्तीय संस्थाका उर्लाबारी शाखा प्रमुख नगेन्द्र कार्कीले बताए ।
उर्लाबारीमा निःशुल्क आँखा जाँच तथा जनरल स्वास्थ्य शिविर सम्पन्न; १५० जना लाभान्वित







