काठमाडौं । नेपालमा युवा उमेरमै रहर लाग्दो व्यवसायिक सफलता हासिल गरेर सबैको मन जितेका परशुराम चौहान ‘प्रलाद’ले विश्व मञ्चमा कीर्तिमान कायम गरेका छन् । आफ्नै बलबुताले नेपालमा प्रभावशाली युवा उद्यमी बन्न सफल प्रलाद अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’बाट सम्मानित हुँदै कीर्तिमान कायम राख्न सफल भएका हुन् । बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका चौहानलाई नरुलाज एन्ड कम्पनी (इभेन्ट्स)को व्यवस्थापनमा भारतको गोवामा आयोजित भव्य कार्यक्रमकाबीच सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला र व्यवसाय क्षेत्रमा संलग्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता थियो ।

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट राजधानी काठमाडौं प्रवेश गरेका उनी परामर्श र आयुर्वेदीक स्वास्थ्य क्षेत्रका साथै कलाकारिता र सामाज सेवा सम्बन्धी गतिविधिमा सक्रिय रहेर लागि रहेका छन् । दीर्घकालीन सोच र योजनाका साथ हात हालेका कार्यहरुमा उनी सफल समेत रहँदै आएका छन् । आफ्नो सक्रियता तथा परिवार, सहकर्मी, शुभेच्छुक र सम्पूर्ण नेपालीको साथ एवम् विश्वासको कारणले आफूले अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुने मौका पाएको उनको भनाइ रहेकोछ ।

आयोजक संस्थाले उनलाई स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा पु¥याएको योगदानलाई विशेष रूपमा प्रशंसा गर्दै सम्मानित गरेको छ । चौहानको कामले उद्यमशीलता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गरेको ठहर आयोजकको रहेको छ ।

सम्मानित भएपछि चौहानले सामूहिक सहभागिता र लगावबाट सफल बन्न सकिने सोच एवम् निरन्तरताको परिणाम आफूले पाएको र आफूलाई यो सम्मानले अझ जिम्मेवारी थपिदिएको बताए । ‘म सँधै सामूहिकता, निस्वार्थता र निरन्तरतामा विश्वास गर्छु र सबैलाई आफैं जसरी लागि पर्न सल्लाह पनि दिन्छु । मैले आँटेको काममा सबैजननाले विश्वास गर्नुभयो र मलाई साथ दिनु भयो । जसको कारणले गर्दा आज म अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाएँ, यो हामी सबै नेपालीको जित हो । यसले मलाई थप जिम्मेवारी वोध भएको छ ।’–चौहानले भने ।

नेपालमा कोरोनाको महामारी चलिरहेका बेला चौहान ठाउँ–ठाउँमा सहयोग जुटाउने र वितरण गर्ने कार्यमा सक्रियताका साथ लगिपरेको देखिन्थे । त्यसताका मानिसहरुले भोग्नु परेको प्राकृतिक विपत्तिबाट आफू अझ सामाजिक कार्यमा सक्रिय हुन प्रेरित बनेको उनको भनाइ रहेको छ । ‘पीडामा छटपटाइरहेका मानिसहरुको पीडामा केही मल्हम लगाउन सक्दा र भोका मानिसहरुलाई सानो राहत दिन सक्दा पनि आशिर्वाद पाईंदो रहेछ । म आफैं पनि अभावबाट गुज्रँदै विकट ठाउँबाट देशको राजधानी छिरेको हो तर विपत्तिको घाउ त राजधानीमा झन् दुख्दो रहेछ ।’–उनले भने ।

हाल पनि व्यवसाय मार्फत सयौंलाई रोजगारी दिइरहेका चौहानले व्यवसाय र समाज सेवालाई एकसाथ अगाडि बढाउने बताए । दुखलाई सुखमा बदल्न दीर्घकालीन जान सक्ने सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने बताउँदै उनले लगनशीलता नै सफलताको शुत्र भएको आफूले अनुभव गरेको सुनाए ।

तपाईको प्रतिक्रिया