विष्णुप्रसाद पोखरेल
दमक, भदौ २७ गते । इलाका प्रशासन कार्यालय दमकले राहदानी तथा राष्ट्रिय परिचयपत्रका लागि अनलाइन फाराम भर्न सेवाग्राहीलाई निःशुल्क सहजीकरण गर्न सुरू गरेको छ ।
कार्यालयले बुधबारदेखि राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि कार्यालयबाटै निःशुल्क फाराम भरिदिने सेवा सुरू गरेको हो ।
यससँगै कार्यालय आसपास खुलेका विभिन्न सेवा केन्द्रमा पुगेर अनलाइन फाराम भरेबापत शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयले जनाएको छ । यसअघि कतिपय सेवाग्राहीले फाराम भर्नका लागि बाहिरका व्यक्तिलाई शुल्क तिर्ने गरेका थिए । एक सय रुपियाँ शुल्क लिएर फाराम भरिने गरिएको थियो ।
इलाका प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अब उप्रान्त अनलाइन फाराम भर्नका लागि बाहिरका अनधिकृत व्यक्तिहरूलाई कुनै शुल्क बुझाउनु पर्ने छैन।’
इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निःशुल्क फाराम भर्ने व्यवस्था गत बुधबारदेखि सुरू गरिएको जनाउनुभयो ।
उहाँका अनुसार अनलाइन फाराम भर्न सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । फाराम भर्ने क्रममा समस्या भए कार्यालयमै आएर कर्मचारीको सहयोग लिन सकिने उहाँले जानकारी दिनुभयो ।
सेवाग्राहीले चाहेमा आवश्यक विवरण भरेर आफैँ अनलाइन फाराम तयार गरी कार्यालयमा ल्याउनसमेत सक्ने कार्यालय प्रमुख नेपालले बताउनुभयो ।





