गुणबहादुर रोका
गोरखा, भदौ २७ गते । डेलिभरीको अनुमानित मिति गुज्रिएको दश दिनसम्म पनि सुत्केरी व्यथा नलागेपछि उत्तरी गोरखाका तीन गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका – ३ पाङसिङका पसनी गुरुङ, सोहि ठाउँकी सुजता गुरुङ र वडा नम्बर ६ चुम्चेतकी एलिसा लामालाई शनिबार उद्धार गरि हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।
जिल्लाको दुर्गम क्षेत्रमा सडक पहुँच नहुँदा समयमै अस्पताल पु–याउन कठिन भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत महिलाहरुको उद्धार गरी थप उपचारको लागि काठमाडौं पठाउने व्यवस्था मिलाइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो ।
उत्तरी गोरखाको पाङसिङ र चुम्चेत महिलाहरुमा डेलिभरीको समय गुज्रिएपछि गर्भमा रहेको बच्चाले दिसा खाने तथा गर्भमा रहेको पानी कम हुदै जाँदा आमा र बच्चा दुबैको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने भएकाले यस्तो अवस्थामा तत्काल बिशेषज्ञ सेवा उपलब्ध गराउन काठमाडौं पठाइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
तर उत्तरी गोरखामा बर्षायामसँगै सडक तथा पैदल बाटो अवरुद्ध हुँदा गर्भवतीलाई एम्बुलेन्सबाट लैजान सकिने अवस्था नभएपछि जोखिम न्यूनीकरण गर्नका लागि उत्तरी गोरखाबासी सुत्केरी तथा महिलाहरुलाई हेलिकप्टर उद्धार नै एकमात्र विकल्प बनेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य शाखाका अनुसार सुत्केरी हुनै लागेका चुम्चेतका एलिला गुरुङलाई १०४ डिग्री ज्वरो समेत आएकाले समयमै उपचार नपाउँदा प्रसुति जटिल बन्न सक्ने भएकाले स्वास्थ्यकर्मीको सिफारिसमा तत्काल उनीहरुलाई सुविधासम्पन्न अस्पताल पठाइएको हो ।
दुर्गम गाउँका गर्भवती महिलाका लागि सडक र स्वास्थ्य सेवा अझै चुनौती पुर्ण रहेको यो घट्नाले देखाएको छ । सामान्य प्रसुति पनि भौगोलिक विकटताका कारण जोखिमपुर्ण बन्ने उत्तरी गोरखामा समयमै हेलिकप्टर उद्धार हुनुले तीनै जनालाई थप उपचारको अवसर दिएको छ ।





