आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । रुबि पोद्दारले नेपालको लागि पहिलो पटक अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

रुवान्डामा हिजो भएको खेलमा नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे थियाे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रन बनाएको थियो । १२ ओभर १ बल सकिँदा नेपालले ४ विकेट गुमाएर २७ रन मात्र बनायो ।

ओपनर सम्झना खड्का रोयल डक आउट हुँदा विन्दु रावल ३ रनमा, पूजा महतो ८ रनमा र कविता जोशी १ रनमा आउट भए । रुबि पोद्दारले नेपाली राष्ट्रिय टोलीका लागि पहिलो पटक अर्धशतक बनाइन् । उनले ५१ बल खेल्दै ५ चौका र १ छक्का सहित अविजित ५१ रन जोडिन्, जसका कारण नेपालले ८६ रन बनाउन सक्यो ।

पाँचौँ खेलमा नेपालको यो तेस्रो हार हो । अमेरिकाको यो चौथो जित हो । दुई खेल जितेको नेपालसँग ४ अंक रहेको छ र नेपाल चौथो स्थानमा रहेको छ । अमेरिकासँग ८ अंक छ र अमेरिका तालिकाको शीर्षस्थानमा रहेको छ ।

यसअघि आफ्नो पहिलो खेलमा गएको वैशाख ५ गते नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । अब नेपालले भोलि रुवान्डासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया