विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर क्षेत्रमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले शनिबार साँझ एकैसाथ व्यापक ‘स्विप अपरेसन’ चलाउँदै ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न गल्लीमा सञ्चालित स्पा केन्द्रहरू लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो ।

प्रहरीका अनुसार अवैध तथा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानीमा रहेका स्पाहरूमा एकैपटक कारबाही अघि बढाइएको हो । प्रारम्भिक अनुसन्धानबाट केही स्पा केन्द्रहरू यौनजन्य अवैध गतिविधिको आवरणका रूपमा प्रयोग भइरहेको आशंका बलियो बनेको छ ।

भारतसँगको खुला सीमाको प्रभाव देखिएको भन्दै नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिकसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । जोगबनी नाकासँगको सहज आवतजावतका कारण यस्ता गतिविधि बढेको अनुमान गरिएको छ ।

यस क्रममा विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकसहित कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको छ । उक्त स्पा बिना आवश्यक अनुमति तथा कर्मचारीको परिचयपत्रसमेत नबनाई सञ्चालन भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो स्पाका सञ्चालक सुनसरी बर्जु–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारत, बिहारको पटना दानापुर निवासी ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ । साथै, कर्मचारीका रूपमा कार्यरत मोरङ केराबारी–१० की ३१ वर्षीया तीर्थमाया भुजेल, भोजपुर ट्याम्के मैयुङ–३ की ३० वर्षीया रेखा राई र सुनसरी बर्जु–२ की ३६ वर्षीया पार्वती नुनियासहित अन्यलाई समेत नियन्त्रणमा लिइएको छ ।

अन्य स्पा केन्द्रहरूबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र मापदण्डविपरीत सञ्चालन हुने संस्थामाथि कडाइ निरन्तर रहने प्रहरीले स्पष्ट पारेको छ ।

स्पा र मसाज सेन्टरहरुमा यौनजन्य गतिविधि हुने गरेको आशंकामा आकस्मिक छापा मारेको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको छ ।

लागूऔषध नियन्त्रण सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी एकमहिने अभियान जारी रहेको अवस्थामा मोरङ प्रहरीले अन्य क्षेत्रमा समेत प्रभावकारी परिणाम देखिने गरी कार्य गरिरहेको छ । पछिल्लो समय लागूऔषध ओसारपसार र प्रयोग गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेका छन् । त्यस्तै जुवातासमा संलग्नहरुलाई समेत प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया